सधैँ अरूका खबर लेख्ने पत्रकार अहिले आफैँ खबरमा छाउँदै



महोत्तरी । सधैँ अरूका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरूको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् ।

मधेसका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिता क्षेत्रसँग चासो राख्ने सबैबीच चुनावको चर्चा छ ।


महासङ्घ केन्द्रीय समितिका पदाधिकारी र विभिन्न क्षेत्र (क्लष्टर) बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि उम्मेदवारहरू समूहमा र एक्लाएक्लै भोट माग्दै हिँडेका छन् ।

मधेस प्रदेशमा केही स्वतन्त्रसहित तीन समूह चुनावी प्रतिस्पर्धामा छन् । वर्तमान प्रदेश महासचिव पर्साका श्याम बञ्जारा, सप्तरीका अवधेश झा र धनुषाका नवलकिशोर यादवसहित तीन समूह चुनावी मैदानमा छन् । यीमध्ये बञ्जारा नेतृत्वको समूह नेपाल प्रेस युनियन र प्रेसचौतारी नेपालको गठबन्धनको हो ।

यसैगरी झालाई प्रेस सेन्टर नेपाल, नेपाल प्रेस मञ्च र समाजवादी प्रेस सङ्गठनको समर्थन छ । यद्यपि उम्मेदवार यादवले आफ्नो समूहलाई स्वतन्त्र दाबी गरेको छ । मधेशका आठ जिल्लामा महासङ्घका ७७२ सदस्य छन् । यी सदस्यमध्येका मतदातालाई मनाउन उम्मेदवारहरूको घरदैलो सकिएको छैन ।

यो निर्वाचनमा पत्रकारका सङ्गठनहरूले अघिल्लो चुनावभन्दा फरक गठबन्धन गरेका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल एउटा गठबन्धनमा छन् भने प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन र प्रेस मञ्च नेपालसहितका सङ्गठनले अर्को गठबन्धन गरेका छन् । केन्द्रदेखि जिल्लासम्म यो गठबन्धनको प्रभाव देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here