झापा । शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुलनिर्माण भएको छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा पुल बनेको हो ।
बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने चार सय ७६ मिटर लामो उक्त ‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ टिमाई नदीमा बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको सम्पेन्सन ब्रिज डिभिजनका साइट इन्जिनियर जयप्रसाद गुप्ताका अनुसार विसं २०८१ जेठ २४ गते उक्त पुलको निर्माण सम्झौता भएको थियो । सम्झौतामा निर्माण अवधि विसं २०८३ जेठ २३ गतेसम्म तोकिएको थियो ।
सम्झौता भएको एक महिनापछि विसं २०८१ असार २४ मा सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त झोलुङ्गे पुलको शिलान्यास गरेका थिए । निर्माणको ठेक्का लिएको कम्पनीले शिलान्यास भएको पाँच महिना र सम्झौता भएको छ महिनामै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरेको हो ।
दुई वर्षमा बनिसक्ने भनिएको झोलुङ्गे पुल छ महिनामै निर्माण भएको देखेर आफू चकित भएको बुद्धशान्ति –६ का शिवराज पौडेल बताउँछन् ।
मङ्सिरको अन्तिम सातादेखि पुलबाट सर्वसाधारणले आवतजावत गर्न थालिसकेका छन् । प्रदेशकै लामो पुल भएकाले घुम्न, हेर्न र फोटो भिडियो खिच्न युवायुवती आउन थालेकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । पुल बन्नुअघि बुद्धशान्तिको वडा नं ६ बाट ७ मा जान स्थानीयवासीले सकस भोग्दै आएका थिए ।
भौतिक पूर्वाधारका अधिकांश निर्माण कार्यमा ढिलासुस्तीको गुनासो आउने पाइन्छ । तर, सम्झौतामा दिइएको अवधिको तुलनामा एक चौथाइ अवधिमै पुलको निर्माण सम्पन्न भएकोमा स्थानीयवासी खुसी रहेको पौडेल बताउँछन् ।
‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डि–टाइप’को झोलुङ्गे पुल रहेको इन्जिनियर गुप्ताले बताए । सिराहामा निर्माण भएको एक हजार पाँच सय मिटर लामो झोलुङ्गे पुलसमेत सोही निर्माण व्यवसायीले तोकिएको समयअगावै बनाएको उनले जानकारी दिए ।
“निर्माण छिटो हुने कि ढिलो हुने भन्ने कुरा निर्माण व्यवसायीको कामको गति र इमान्दारीमा निर्भर हुन्छ”, उनले भने, “अटेरी प्रवृत्तिका कारण कतिपय काम ढिलो हुन्छन् । ठेकेदारले चाहे भने १८ महिना लाग्ने काम चार महिनामै पनि पूरा गर्न सक्छन् ।”