वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन



वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनाको अवधिमा रु ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले कुल वार्षिक लक्ष्यको ५ महिनाको अवधिमा २९ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा रु १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन गरेको छ ।


भदौ महिनामा १३ अर्ब ४३ करोड १० लाख, असोज महिनामा १३ अर्ब ४३ करोड र कात्तिक महिनामा ११ अर्ब १० करोड ५२ लाख राजस्व सङ्कलन गरेको थियो । तर मङ्सिर महिनामा भने रु १४ अर्ब ४१ करोड ५९ लाख राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने राजस्व सङ्कलन २ अर्ब ५९ करोड १६ लाख ३० हजार बढेको छ । कार्यालयका अनुसार गत आवको ५ महिनाको अवधिमा भने ६२ अर्ब ३४ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।