तेह्रथुम । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ नगरपालिकालाई जोड्न तमोरको लुमुघाटमा १३ वर्षदेखि अलपत्र मोटरेबल पुलको पुनःनिर्माण सुरु भएको छ। म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेका अनुसार १७ करोड लागतमा पुल निर्माण थालिएको हो।
तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनःसुरु गरेको हो। पुलको जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः माटो परीक्षण गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको रोकिएको थियो।
गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा पुरानै ‘डिजाइन’मा पुल बनाउने सहमति भएपछि निर्माण थालिएको हो। चालु आर्थिक वर्षभित्रै निर्माण पूरा गर्ने निर्माण कम्पनीका ‘साइट इञ्चार्ज’ विजय लामिछानेले बताए। पुल निर्माण भएपछि म्याङलुङ– लुमुघाट– तमोर करिडोर भएर धरान र प्रदेश राजधानी विराटनगर पुग्न सहज हुनेछ।