भैरहवा । रुपन्देही क्रिकेट संघले चालु आर्थिक वर्षमा सात जना खेलाडीलाई मासिक सुविधा दिने निर्णय गरेको छ । खेलाडी कल्याणकारी कोषअन्तर्गत आर्थिक वर्ष २०८१-८२ का लागि मासिक पाँच हजार रुपैयाँ दिने गरी सात जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार क्रिकेट खेलमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्नु कल्याणकारी कोषको मुख्य उद्देश्य हो । मासिक सुविधा पाउने खेलाडीमा सिनियरतर्फ दुई जना, यु–१९ तर्फ दुई र महिला क्रिकेट खेलाडीतर्फ तीन जना छन् ।
‘खेलाडीको संरक्षण गर्ने भनेर कल्याणकारी कोष खडा गरेका थियौँ,’ अध्यक्ष थापाले भने, ‘कोषमा उपलब्ध रकमबाट खेलाडी संरक्षण रकम प्रदान गर्दै आइरहेका छौँ ।’ संघका अनुसार चालु आर्थिक वर्षमा सिनियरतर्फ कृष्ण कार्की र अजय चौहानले मासिक पाँच हजार रुपैयाँ सुविधा पाएका हुन् ।
यस्तै, यु-१९ तर्फ सन्तोष यादव र रमेश कुर्मीले यो सुविधा प्राप्त गर्दा महिलातर्फ कृति अधिकारी, सन्ध्या चापागाईं र एञ्जिला पाठकले मासिक सुविधा पाएका छन् । थापाका अनुसार खेलाडी कल्याणकारी कोषका लागि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अरुण शाही र वडा नम्बर २ का वडाध्यक्ष जनार्दन यादवले आफूले पाउने पारिश्रमिक वापत कल्याणकारी कोषमा रकम उपलब्ध गराउँदै आएका छन् ।
‘हामीले दुईजना वडाध्यक्षले उपलब्ध गराएको रकम र रुपन्देही क्रिकेट एकेडेमीबाट हुने आम्दानीबाट खेलाडीलाई मासिक सुविधा दिइरहेका छौँ,’ थापाले भने, ‘सहयोगी दाताहरू थपिँदै जानुभएको छ । यसमा थप रकम जुटाउन पनि हामी लागिपरेका छौँ ।’
अध्यक्ष थापाका अनुसार कल्याणकारी कोषको रकम वृद्धि गर्न सकेमा कम्तिमा सिनियर, यु–१९ र महिला टिमका सबै सदस्यलाई मासिक सुविधा दिन सकिनेछ ।