काठमाडौं। मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले गरेको दुर्व्यवहारबारे अनुसन्धान सुरु गरेको छ।
सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवनबाट कास्की लैनाने क्रममा अमानवीय व्यवहार गरेको र मानवअधिकार हनन् भएको भन्दै आयोगमा उजुरी परेको थियो। उजुरीमा उल्लेख भएअनुसार मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले लामिछानेमाथि अमानवीय व्यवहार गरेको विषयमा अनुसन्धान सुरु गरेको आयोगले आज विज्ञप्तीमार्फत जनाएको छ।
‘उक्त घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितको प्रहरी उच्चअधिकारीसँग आज आयोगले जानकारी लिएको छ’, विज्ञप्तीमा भनिएको छ। यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धान जारी राखेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।