‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ घोषणा



काठमाडौं। इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरेको छ।

शनिबार काठमाडौंमा इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरेका हुन्।


नेपाल भित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै गौरबमय परिचय र पहिचान बनाउन सक्छु भन्ने अभिलाषा राख्ने नेपाली भाषी समुदायका लागि यी दुई रियालिटी शोहरुको आयोजनाको निरन्तरता हुन लागेको अध्यक्ष अधिकारीले जानकारी दिए।

सन् २०२३ मा यी दुबै रियालिटी शोहरुको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो।

‘संसारका ५२ देशमा बसोवास गरिरहेका नेपालीको सक्रिय सहभागितामा भएको पहिलो सिजनको सफलताले हामी उत्साहित भएका छौं, कार्यक्रम सफल पार्न अरोहात्र सहगोग गर्ने नेपाल भाषी सम्पूर्ण जनसमुदायमा हार्दिक धन्यवाद समेत ब्यक्त गर्दछु,’ अधिकारीले भने।

मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायक (जज)को भूमिकामा छन्।

यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायक मण्डलीमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, चर्चित अभिनेतृ शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर बि.सी., किरण थापा छन्।

मेरो भ्वाइस युनिभर्सको सिजन २ लाई रियालिटी सोको निर्देशनको क्षेत्रमा ख्याति कमाइ सकेका सुरेश पौडेलले निर्देशन गर्ने छन् भने डान्स युनिभर्सको सिजन २ का लागि निर्देशन विषयमै अध्ययन पूरा गरेकी मोसमी गुरुङले निर्देशन गर्नेछिन्।

दुबै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु अनुबन्धित भएका छन्, जसमा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोख्रेल र नम्रता श्रेष्ठ समेत छिन्।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुका बीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपाली भाषी प्रतिभाहरुलाई जहाँबसे पनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अबसर दिन सकियोस् भन्ने भावनाले यी रियालिटी शोहरु आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए।

दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका झापाको दमक, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिनेछ।

सहभागी हुन चाहने प्रतिष्पर्धीले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन्। विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिष्पर्धाका लागि नेपालको राजधानी काठमाडौं लगिने छ। भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस प्रतिष्पर्धीहरु काठमाडौं लगिने छन्।

दुबै शोका विजेतालाई १ करोड नेपाली रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ। दोस्रो हुनेलाई २५ लाख रुपैयाँ र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने छ।

यो प्रतियोगितामा सहभागी हुनका लागि सबै प्रतियोगीहरु नेपाली मूलका हुनु अनिवार्य छ। प्रतियोगीहरु नेपालीभाषी हुनुपर्ने छ।

गैर नेपाली भाषीलाई यो प्रतियोगितामा समावेश गरिने छैन।

दुबै प्रतियोगिताका लागि प्रतियोगीको न्युनतम उमेर १८ बर्ष पूरा भएको हुनुपर्ने छ।

नेपालका लागि १६ बर्ष उमेर पुगेको ब्यक्ति सहभागी हुन पाउने छन्।

अडिसनको समयमा अडिसन स्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने छ।

आधिकारिकताको परीक्षण अडिसनस्थलमै हुने छ।

उमेर नपुगेका इच्छुक प्रतियोगीहरुलाई समावेश गरिने छैन।

दुबै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट शुरुवात गरिने छन्।