भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत पुगेका छन् । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी कुवेतको राजधानी पुगेका हुन् ।
कुवेतका अमिर शेख मेशाल अल अहमद अल जबार अल सबाहको निमन्त्रणामा प्रधानमन्त्री मोदी कुवेत पुगेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार कुनै पनि भारतीय प्रधानमन्त्रीले कुवेतको भ्रमण गरेको ४३ वर्षमा यो पहिलो अवसर हो ।
यसअघि सन् १९८१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले कुवेतको भ्रमण गरेकी थिइन् । कुवेत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँ उच्चस्तरीय भेटवार्ता गर्नुका साथै भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री मोदीले दुई मुलुकबीच पुस्तौँदेखिको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले दुई मुलुकबीच ऊर्जा र व्यापारिक सम्बन्ध मजबुत रहेको तथा शान्ति स्थिरता, सुरक्षा र समृद्धिजस्ता क्षेत्रमा समान धारणा रहेको जनाएका छन् ।