बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सकियो



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औँ शाक्यमोन्लम पूजा सम्पन्न भएको छ । विश्वशान्ति र प्राणी कल्याणको कामना गर्दै करिब सात हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरूले पूजा गरेका छन् ।

प्रणिधान र बुद्धपाठले दश दिनसम्म मायादेवी मन्दिर परिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आर्कषित भएका थिए ।


विगतमा २५ वर्षसम्म निरन्तर सञ्चालन गरिएको पूजा विगतमा केही वर्ष रोकिएकोमा पुनः आठ वर्षपछि मङ्सिर २३ गतेदेखि सुरु भएको थियो ।

लुम्बिनी विकास कोषको पहलमा ४१ औँ शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो । मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितिमा मंगलबार समापन गरिएको हो ।

भारतका ४१ औँ शाक्य ट्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्यमोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सिर्जना गरेको कोषका उपाध्यक्ष डा लामाले बताए ।

उनले शाक्य ट्रिछेन रिन्पोछें गुरुको उपस्थितिमा लुम्बिनीमा हजारौँ लामा, भिक्षु, उपासक उपासिकाहरू सहभागी भएर मोन्लम पूजा हुनु गौरवको विषय भएको बताए ।

डा लामाले लुम्बिनीबाट सुरु भएको शाक्यमोन्लम पूजा निरन्तरताका लागि कोष स्थानीय प्रशासन, स्थानीय सरकार, होटल व्यवसायी र आमनागरिकले साथ दिनुपर्ने बताए ।

प्राणी जगत्को कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्राणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको थियो । हिमाली बौद्ध परम्पराअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको थियो ।

शाक्यमोन्लमले लुम्बिनी, भैरहवा क्षेत्रका होटल भरिभराउ भएको कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले जानकारी दिए । पूजा अवधिभर विभिन्न धार्मिक गुरुदेखि सरकारी क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूले ४१ औँ शाक्य ट्रिछेन रिन्पोछेसँग आर्शिवाद लिन पुगेका उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here