दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति



काठमाडौँ । दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले दुर्गा प्रसाईंमाथि लागेको साइबर सम्बन्धी आरोपबारे अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । तर, अभियोग पत्र तयार नभएपछि उनलाई थप हिरासतमा राख्न समय मागिएको थियो । बुधबार जिल्ला अदालतमा उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ ।


मंसिर ४ मा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंसँग आपराधिक लाभ लिन नहुने कसुरमा बयान लिइएको छ । अनुसन्धान अधिकृत र काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बयान लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको भन्दै प्रहरीले सुरुमा उनलाई साइबर सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।

अहिले उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई उनले नै धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुयलले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएका छन् ।

तर, प्रसार्ईंले बयानमा सो कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here