कास्कीको सावेतमा बुद्ध शान्ति स्तुपा निर्माण, धार्मिक पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा



-अजय क्षेत्री, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९ सावेतमा पवित्र बुद्ध शान्ति स्तुपा निर्माण गरिएको छ । निर्माण भएको उक्त स्तुपाको उद्घाटन प्रदेशसभा सदस्य सरस्वती गुरुङले गरेकी हुन् ।

उद्घाटन समारोहमा उनले भगवान बुद्धका वाणी उदृत गर्दै जात, धर्म, र कर्मलाई मानवताको साझा मूल्यका रूपमा प्रस्तुत गरिन् । उनले भनिन्, ‘एउटैमात्र जात छ, त्यो मनुष्य हो। एउटैमात्र धर्म छ, त्यो प्रेम र करुणा हो। एउटैमात्र कर्म छ, त्यो परोपकार हो।’


सांसद गुरुङले यो स्तुपा धार्मिक मात्र नभई धार्मिक पर्यटनको हिसाबले पनि महत्व राख्ने बताउँदै यसले पर्यटनको विकासमा एक नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमका क्रममा जग्गादान गर्ने तथा आर्थिक, भौतिक, र नैतिक सहयोग पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्दै प्रदेश सरकारको निरन्तर सहयोग रहने आश्वासन पनि दिइन् ।

कार्यक्रमको क्रममा गुरु टुल्कु डुप्सेङ्ग रिम्पोछे र यस परियोजनाका परिकल्पनाकार धीरबहादुर गुरुङले पुस्तक विमोचन गरेका थिए । कार्यक्रमको समायोजन सूर्य बहादुर गुरुङले गरेका थिए भने संचालन श्याम गुरुङले गरेका थिए ।
बुद्ध स्तुपा निर्माणले धार्मिक पर्यटनको विकासमा योगदान पुर्याउने र क्षेत्रीय समृद्धिलाई थप बल दिने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here