काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट सङ्घका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिएका हुन् ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकुन भन्ने कामना पनि गरे ।
‘यो सम्पूर्ण नेपालीको जित हो, नेपाली क्रिकेटको जित हो, प्रतियोगितामार्फत तपाईंहरुको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम रोयल्सले पनि राम्रो प्रदर्शन गर्यो, कठोर चुनौतीको सामना गर्दै जित हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आगामी दिनमा अझ ठूला सफलता हासिल गर्नका लागि म शुभकामना दिन्छु ।’