एकीकृत समाजवादीमा कार्यविभाजन, विद्यार्थी इन्चार्जमा रामकुमारी झाँक्री



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिएको छ । मङ्सिर २६ मा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभागको जिम्मेवारी दिएको छ ।

महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ भने उपमहासचिव राजेन्द्र राई कोशी प्रदेश इन्चार्ज बनेका छन् ।


यस्तै, सङ्गठन विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता डा. बेदुराम भुसाल, विदेश विभागमा वरिष्ठ नेता प्रमेश हमाल र राजकीय मामिला विभागको जिम्मा घनेन्द्र बस्नेतले पाएका छन् ।

वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुख, सङ्घीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, प्रचार विभाग प्रमुखमा उपाध्यक्ष प्रकाश ज्वाला, अनेमसंघ इन्चार्जमा उपाध्यक्ष जयन्ती राई, सुदूरपश्चिम प्रदेश इन्चार्जमा उपाध्यक्ष भानुभक्त जोशी, मधेस प्रदेश इन्चार्ज उपाध्यक्ष धर्मनाथप्रसाद साह र उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।