उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान



मोरङ । पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले  पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गरेका थिए । तर,  नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उनी खेती गर्ने कि नगर्ने भनी दोधारमा परेका छन् । 

स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर फर्किएका पूर्वभारतीय सेना सुब्बा रेल्वेको ट्र्याकले फार्ममा परेपछि खेतीको विकल्पबारे अन्योलमा परेका हुन् । 


नेपालमा फरक तथा नौलो खेती सुरु गर्नुभएका सुब्बाले सावरसुप ‘एन्टी क्यान्सर’ का रूपमा चिनिने वनस्पति हो, भने । आफूले फार्म सञ्चालन गर्दै आएको एक बिघा जमिनमा रेलमार्ग छिरेपछि निराशा र अन्योल दुबैले घेरेको उनले बताए । 

रेलमार्ग फार्ममा परेपछि सबै बैंकिङ प्रक्रिया बन्द भएको बताउँदै पाँच वर्ष पहिले बैंकबाट ऋण लिएर १० कट्ठा जग्गामा फार्म सञ्चालन गरेको सुब्बाले जानकारी र्दिए । ‘अहिले फार्मअन्तर्गको जमिन रेलमार्ग परेपछि फार्म रुग्ण भएको छ । अहिले पूर्व काँकडभिट्टाबाट पश्चिम कञ्चनपुरसम्म रेलमार्गको काम भएको छैन, जग्गा फुकुवा पनि भएको छैन’, उनी भन्छन्, ‘यसले गर्दा खेतीको विकल्प वा व्यवस्थापन कसरी गर्ने अन्योलता छाएको छ ।’ 

सुब्बाले छ वर्षअघि कुखुरा, माछा, सुँगुर, काजु, फलफूल र अग्र्यानिक सागसब्जी उत्पादन सुरु गरेका थिए । अठार वर्षको कलिलो उमेरमा भारतीय सेनामा भर्ती हुनुभएका सुब्बालाई १८ वर्षपछि स्वदेशमा कृषि कर्म गर्ने रहर लागेपछि स्वदेश फर्किए । भारतीय सेनामा हुँदा भएको आम्दानी र सीपबाट आफूलाई कृषिमा लाग्न प्रेरणा मिलेको उनले बताए ।  

अमेरिकाबाट एक हजार दुई सय डलरमा बीउ मगाएको जनाउँदै सुब्बाले सुरुमा ४५ वटा बिरुवा उमारेको बताए । दश कट्ठा जमिनमा सुरु गरेको खेती अहिले एक बिघामा फैलिएको उनको भनाइ छ ।  सावरसुपको फल प्रतिकिलो दुई हजार दुई सयसम्ममा नेपाली बजारमा बिक्री हुँदै आएको उनले उल्लेख गरे ।  

व्यावसायिक खेती गर्ने उद्देश्यले अमेरिकाबाट दाना बीउ ल्याई लगाएको बिरुवाले उत्पादन दिन सुरु गरेको सुब्बाले जानकारी दिए ।  फार्ममा रेल्वेको ट्र्याक परेपछि आफ्नो सपना अधुरै रहने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ । आफ्नो उर्भर जीवन भारतीय सेनामा वितेको र अब सबथोक भनेकै फार्म भएको उनी बताउँछन् । 

सुब्बाले गरेको खेती नेपालमा नौलो र फरक किसिमको कृषिजन्य वनस्पति हो । ‘एन्टी क्यान्सर’ बिरुवाका रूपमा चिनिएको उक्त वनस्पतिलाई विदेशमा बढी  उपयोग गरिन्छ । नेपालमा यसको महत्वबारे थाहा नभएकाले सुब्बाले यसको महत्व बुझाउन पनि व्यावसायिक खेती सुरु गरेको उनले बताए । 

भारतीय सेनामा रहँदा अफ्रिका गएका बेला उनले देखेको सावर सुपको विरुवा अहिले आफ्नो बारीमा हुर्काइरहेका छन् । यसको पात र फल खानाले विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ । पछिल्लो समय यसको फल क्यान्सरका बिरामीले रोकथामका लागि खाने गरेका बताउँदै सुब्बाले यसका बारेमा जानकारीमूलक प्रचारप्रसार गर्नुपर्ने धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here