काठमाडौं । भुटानका राजा नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका क्रममा काठमाडौँ ओर्लदै गर्दा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा उहाँको स्वागतको तयारी चल्दै थियो । बिहान १० बजे आसपास स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासममितिका कर्मचारी स्वयम्भूनाथको प्रवेशद्वारमा ‘भुटानी नरेशलाई स्वयम्भूमा हार्दिक स्वागत’ लेखिएको व्यानर टाँग्न व्यस्त थिए ।
स्वयम्भू प्रवेशद्वार अगाडि नेपाल र भुटानका राष्ट्रिय झण्डा फहराइएको थियो । महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति, पुरातत्व विभागका अधिकारी र सुरक्षाकर्मी उनको स्वागतमा तयारी अवस्थामा रहेका थिए । स्वयम्भू परिसरमा सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो । करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका भुटानका नरेश विमानस्थलबाट सिधैँ बानेश्वर, कालीमाटी हुँदै १०ः५० बजे स्वयम्भू पुगेका थिए । स्वयम्भू परिसर पुग्दा उनलाई बौद्ध परम्पराअनुसार धर्मगुरु, महासमितिका पदाधिकारी र पुरातत्व विभागका अधिकारीले स्वागत गरे ।
त्यसलगत्तै भुटानी नरेशले विश्वशान्ति पोखरीको दर्शन गरेका छन् । स्वयम्भू महाचैत्य, ‘शान्तिपूर’लगायत पुरातत्वतिक संरचनाका बारेमा पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले नरेशलाई ‘ब्रिफिङ’ गराएका थिए । स्वयम्भूनाथको परिक्रमापश्चात भुटानी नरेशले काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरे ।
स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिर आगाडि भुटानी नरेशले दीप प्रज्वलन र पूजाअर्चना तथा हारती मन्दिरमा मौलिक परम्पराअनुसार पूजाआजा गरे । सो क्रममा बज्राचार्य गुरुहरुले स्वस्ती पाठ गरेका थिए । स्वयम्भूनाथ परिसरमै रहेको भुटानसँग सम्बन्धित महायानी मन्दिरमा रहेको भगवान् गौतमबुद्धको प्रतीमामा दीपप्रज्वलनसँग पूजाअर्चना गरेका थिए । त्यसक्रममा लामा गुरुहरुले स्वस्ती वाचन गरेका थिए ।
महासमिति र पुरातत्व विभागका तर्फबाट नरेशलाई स्वयम्भूनाथको ऐतिहासिक, पौराणिक र सांस्कृतिक पक्षबारे जानकारी गराइएको अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिए । स्वयम्भूनाथको दर्शनमा आएका भुटानी नरेशलाई महासमितिका तर्फबाट ‘धर्म उपहार’ स्वरुप बुद्धको मूर्ति प्रदान गरी ११ः४० बजे बिदाइ गरिएको थियो ।
नेपाल बुद्ध जन्मेको देश भएर पनि आफूहरुले नरेशलाई शान्ति नायक गौतमबुद्धको मूर्ति उपहार दिइएको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिए । यसबाट विश्वशान्ति अभियानमा थप बल पुग्ने उनको भनाइ छ ।
स्वयम्भूको भ्रमण सकेर नरेश बौद्धनाथको दर्शनका लागि प्रस्थान गरेका थिए । भुटानी नरेशले स्वयम्भूनाथ दर्शन, पूजाअर्चना र न्यानो आतिथ्यता पाएकामा निकै प्रशन्नता व्यक्त गरेकाे महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए ।
भुटानका नरेश स्वयम्भूनाथको दर्शनका लागि आउने जानकारी सुरक्षा निकायबाट प्राप्त भएसँगै महासमिति उनको भ्रमणलाई सफल बनाउन जुटेको थियो । स्वयम्भूनाथ परिसरमा वृहत सरसफाइ गरिएको थियो । नरेशको स्वयम्भू भ्रमणलाई सफल बनाउन परराष्ट्र मन्त्रालय, पुरातत्व विभाग र सुरक्षा निकायसँगको समन्वयलाई महासमितिले चुस्त बनाएको थियो ।
परराष्ट्र, पुरातत्व र सुरक्षा निकायसँग छलफल गरेर महासमितिले भुटानी नरेशलाई स्वयम्भूको दर्शन, अवलोकन र पूजाआजाको प्रबन्ध मिलाएको थियो । भुटानी नरेशको विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रको भ्रमणबाट धार्मिक पर्यटन प्रवद्र्धनमा पनि बल पुग्ने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको विश्वास छ ।
“भुटानी नरेश यहाँ आउने भनेपछि हामी निकै खुसी भएका थियौँ, स्वयम्भूनाथ क्षेत्रको ऐतिहासिक पक्षबारे उहाँले जानकारी गराउन पाउँदा गौरवान्वित छौँ, छोटो तयारीमा पनि नरेशका स्वयम्भू भ्रमणलाई सफल बनाउन सक्यौँ”, अध्यक्ष भीक्षु धर्ममूर्तिले भने, “भुटानका नरेश स्वयम्भूनाथ पुगेर दर्शनसहित पूजाअर्चना गरेबाट बौद्ध धर्मावलम्बी मात्रै नभई विश्वभरका शान्तिप्रिय महानुभावलाई स्वयम्भूनाथको दर्शन गर्नुपर्छ भन्ने भाव जाग्नेछ, यसबाट नेपाललाई थप लाभ हुनेछ ।”
नरेशको स्वयम्भू भ्रमणको उचित प्रबन्ध मिलाइदिएकामा अध्यक्ष धर्ममूर्तिले सरकारलाई धन्यवाद दिए । भुटानका नरेश भारत भ्रमण गरेर स्वदेश फर्कने क्रममा काठमाडौँ ‘ट्रान्जिट’ रहेकाले यहाँ आएका हुन् । भुटानी नरेश आफू जन्मे, हुर्केको क्षेत्रको भ्रमणमा आउनु मुलुकका लागि महत्वको विषय भएको उनको बुझाइ छ । स्वयम्भूनाथ दर्शन गर्ने नरेशको चाहनालाई पूरा गर्न महासमितिका तर्फबाट आफूहरुले सहयोग गरेको बताउँदै उनले यसबाट नरेश प्रशन्न भएको विश्वास व्यक्त गरे ।