काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे कास्की अदालतमा जारी थुनछेक बहसको क्रममा रुवावासी चलेपछि आजको सुनुवाइ स्थगीत भएको छ ।
सहकारी ठगी प्रकरणमा अभियुक्त बनाईएका ८० वर्षका कृष्णबहादुर गुरुङले इजलासमक्ष आफूलाई नखाएको विष लागेको भन्दै आत्महत्या गर्ने अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो । गुरुङको उक्त अभिव्यक्तिपछि पूर्व सांसदसमेत रहेकी मिना गुरुङपनि रुन थालिन् । मीना र कृष्णबहादुर दुवै बाबु छोरी हुन् ।
बाबुछोरी नै रुन थालेपछि न्यायाधीश नितीज राईले आजको सुनुवाइ स्थगीत गरेका छन् । अब भोलि बाँकी थुनछेक बहस हुनेछ । यो सहकारी ठगीमा रास्वपाका सभापति रवि लामिछानेसमेत जोडिएका छन् । उनी कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् ।
सरकारी वकिलसँग कृष्णबहादुरको बयान
म ब्रिटिस आर्मीमा नोकरी गरेर अवकास प्राप्त भएपछि सन् १९७२ सालमा नेपालस्थित घरमा आई बस्दै गर्दा मेरो छोरी (मीना गुरुङ)हरूको साथी आरती गुरुङको श्रीमान् राजेश गुरुङले मसमेत ब्रिटिस लाहुरेको घरघरमा आएर तपाईं भूपू सैनिकहरूसँग मिलेर हामीले सहकारी खोल्न लागेका छौं, यसका लागि तपाईंहरूले पनि सहयोग गरिदिनु पर् न्यो, यसबाट तपाईंहरूलाई आवश्यक पर्दा हामीले बैंकले भन्दा राम्रो ब्याजदरमा सहुलियत बापत ऋण प्रदान गर्छौं भनी विभिन्न कुराहरू गरेर विश्वास दिलाएको कारण म समेतको ब्रिटिस लाहुरेहरूले जनही २५ हजार निज राजेश गुरुङलाई उपलब्ध गराएपछि निज राजेश गुरुङ समेतले मिति २०६५।०३।०१ गते म लगायतको व्यक्तिहरूलाई भेला गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड दर्ता गरी सञ्चालनमा ल्याउने भनी निर्णय गरेर मेरो छोरी मीना गुरुङको अध्यक्षतामा म उपाध्यक्ष रहने गरी तदर्थ सञ्चालक समिति बनाएका हुन् ।
सहकारीको विधान बनाउने लगायतको कार्य पूरा गरी मिति २०६५।०३।२६ मा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीबाट उक्त सहकारी आधिकारिक रुपमा दर्ता गराएपछि पोखरा महानगरपालिका वडा नम्बर ९ सृजनाचोकस्थित घर भाडामा लिई सहकारीको कार्यालय भवन तयार गरेपछि मसमेतलाई बोलाई पूजाआजा गराई सहकारी सञ्चालनमा ल्याएको हो । सो बेला संस्थाको व्यवस्थापकको रुपमा सम्पूर्ण काम राजेश गुरुङले गरेको थियो । त्यसपछि म सन् २०१० सालको अन्तिमतिर वैदेशिक रोजगारका लागि बेलायत गएको हुँ ।
म २०६८ सालमा नेपाल आउँदा राजेश गुरुङले सहकारीको बचत रकम तथा ऋणीहरूबाट उठाएको रकम संस्थामा जम्मा नगरी आफैले लिएर भाग्यो भन्ने कुरा थाहा पाई म उक्त सहकारी पुग्दा निज राजेश गुरुङ सो स्थानमा थिएन । त्यसपछि मैले लगानी गरेको २५ हजार पैसा फिर्ता मागी म उक्त सहकारीमा जान छाडेको थिएँ ।
मिति २०६५/०५/२७ गते बसेको प्रारम्भिक साधरण सभाबाट ज्ञानबहादुर बम्जन अध्यक्ष, मेरो छोरी मीना गुरुङ उपाध्यक्ष, सूर्यध्वज न्यौपाने सचिव, आरती गुरुङ कोषाध्यक्ष, म कृष्णबहादुर गुरुङसहित पेशलकुमार राई र लीलाबहादुर गुरुङ सदस्य तथा सकुन्तला गुरुङ लेखा समिति संयोजक, मिश्र कुमारी गुरुङ र ऋतु ताम्राकारलाई लेखा समिति सदस्यमा निर्वाचित गराएको उक्त समितिको कार्यकाल मिति २०६८।०८।१७ गतेसम्म रहेको र उक्त समयअवधिमा प्रक्रिया पूरा नगरी कर्जा लगानी गरेको देखाई १,५४,४९,८३६.९९ (एक करोड चौवन्न लाख उनान्पचास हजार आठ सय छत्तीस रुपैयाँ उनानसय पैसा) हिनामिना भई हालसम्म उक्त रकमको साँवाब्याज सहकारीमा फिर्ता नभएको कुरा म पक्राउमा परेर आएपछि मात्र थाहा पाएको छु । यस सम्बन्धमा मलाई केही थाहा जानकारी छैन । उक्त रकम हिनामिना गर्ने कार्यमा मेरो कुनै पनि किसिमबाट मिलेमतो संलग्नता रहेको थिएन । यसरी कानुन विपरीत बचत रकम अपचलन भएको उक्त रकम तिर्ने व्यहोर्ने जिम्मेवारी सम्बन्धित अपचलनकर्ताको रहन्छ । म सञ्चालक समितिको सदस्यमा रहेको कारण पदीय जिम्मेवारी अनुसार मैले पनि तिर्न व्यहोर्न पर्ने दायित्व हुन्छ भने म आफ्नो जिम्मेवारी र दायित्व अनुसारको रकम तिर्न, व्यहोर्न मञ्जुर छु भन्नेसमेत व्यहोराको प्रतिवादी कृष्णबहादुर गुरुङको बयान ।
उक्त मुद्दामा अदालतमा रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो ।
रवि गोर्खा मिडिया प्रा.लि.को एमडी हुँदा कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीबाट अवैधानिक रुपमा ल्याइएको पैसा खर्च गर्ने प्रक्रियामा संलग्नता देखिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पनि पक्राउ गरेका थिए । उनको पनि बयान सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ५१ जनाविरुद्ध डेढ अर्बभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो सहकारी ठगीका मुख्य नाइकेका रुपमा चिनिएका गोर्खा मिडियाका नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई भने हाल फरार छन् ।