सुन्तला बिक्री गर्न समस्या छैन पर्वतको देउपुरका कृषकलाई, बगानमै आउँछन् व्यापारी



पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ ।

यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला  वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छ्रे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागाईंले जानकारी दिए।


सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ । स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेहरूका कारण यहाँ मेला लागे जस्तै हुने गरेको र थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको बताउँछन् ।

“देउपुरका धेरैजसो सुन्तला यसपटक पोखरा पुगेका छन् । केही नारायणगढ, काठमाडौँ र बुटवल तथा स्थानीय बजारमा बिक्री हुने गर्छन्”, उनले भने ।

यहाँका किसानमध्ये स्थानीय ख्यामराज पौडेलले सुन्तला बिक्रीबाटै राम्रो आम्दानी गर्छन् । उनले गत वर्ष रु पाँच लाखको सुन्तला बिक्री गरेका थिए। एक वर्ष बढी उत्पादन भयो भने अर्को वर्ष कम उत्पादन हुने भएकाले यसवर्ष केही कम कारोबार हुने उनको भनाइ छ ।

यहाँका अधिकांश किसानले व्यापारीलाई बगैँचा नै जिम्मा लगाउने गरेका छन् । यहाँका सबै किसानको कारोबारको कुरा गर्दा गतवर्ष करिब रु पाँच करोडका सुन्तला बिक्री भएका थिए । यसपटक पनि सोही हाराहारीमा कारोबार हुने अपेक्षा गरेका छन् । व्यवसायीले बगैँचामै ‘ग्रेडिङ’ गरेर सुन्तला लैजान थालेको कृषक दाताराम चापागाईंले बताए।

विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत रूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरूले सुन्तलाखेती गरेपछि जीवनस्तरमा समेत परिवर्तन आएको बताउन थालेका छन् ।

यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन् । गाउँमा पक्की मोटरबाटोको सुविधा पुगेपछि सुन्तला खेतीतर्फ थप आकर्षण बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here