बैतडी । सुदूरपश्चिम प्रदेशका थप दुई खेलाडीले मासिक रूपमा तलब पाउने भएका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले प्रदेशबाट नियमित रूपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एक महिला र एक पुरुष खेलाडीलाई मासिक रु १५ हजारका दरले प्रोत्साहन रकम दिने भएको हो ।
मासिक रूपमा प्रोत्साहन रकम पाउनेमा बैतडीका दीपक बोहरा र बझाङकी अनु कडायत रहेकी सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।
एमबी ग्रुप डडेल्धुराको प्रायोजनमा दुवै खेलाडीले मासिक रूपमा प्रोत्साहन रकम पाउनेछन् । यही मङ्सिर १ गतेदेखि लागू हुनेगरी दुवै खेलाडीलाई मासिक रूपमा प्रोत्साहन रकम दिनेगरी प्रायोजन सम्झौता भएको उनले बताए ।
मासिक रूपमा रु १५ हजारका दरले प्रोत्साहन रकम प्रदान गर्नेछ । दीपक र अनुले सुदूरपश्चिमबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेल्नुका साथै उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।
‘प्रादेशिक क्रिकेट सङ्घले निकट भविष्यमा अन्य खेलाडीलाई पनि प्रोत्साहन भत्ता दिने तयारी गरेको छ’, अध्यक्ष जोशीले भने । यसअघि नेपाल क्रिकेट संघ (क्यान)बाट मासिक रूपमा सुदूरपश्चिम प्रदेशका पाँच खेलाडी प्रोत्साहन रकम पाउन छनोट भएका थिए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले तीन पुरुष र दुई महिला खेलाडीलाई छनोट गरेको हो । छनोट हुने पुरुष खेलाडीमा खडक बोहरा, किरन ठगुन्ना र शेर मल्ल तथा महिला खेलाडीमा सावित्री धामी र स्नेहा महरा रहेका छन् ।