सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारी कामकाजमा तथा कार्यालयमा स्वदेशमा उत्पादित वस्तुको प्रयोग अनिवार्य गर्नुपर्ने बताएका छन् ।

सोफा उत्पादक सङ्घको आज प्रथम साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वदेशी वस्तुलाई देशमा खपत गर्न सकेमा आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताएका हुन् ।


रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गुणस्तरीय उत्पादनमा जोड दिँदै निर्यातमूलक उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउन आग्रह गरे ।