काठमाडाैँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको स्थिरता र स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले नेपाली कांग्रेस र नेकपा (एमाले)बिचको सहमतिमा गठन भएको वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म तल-माथि नभई निर्वाध रूपमा सञ्चालन हुने दाबी गरे।
‘नेपाली कांग्रेस र एमालेको सदनमा १६७ सिट संख्या छ। बहुमतका लागि अरू दल खोज्न परेन। राष्ट्रिय संकट समाधानका लगि मिल्नुपर्छ भन्ने प्रमुख दुई दलबिचमा समान बुझाइ रहुन्जेल सरकार कसैले चाहँदैमा फेरबदल हुँदैन,’ उनले भने।
विभिन्न क्षेत्रमा बिग्रँदै र भत्कँदै गएको अवस्थालाई सरकारले नियन्त्रणमा लिई मुलुकलाई असफल हुनबाट बचाएको भन्दै उनले सामाजिक क्षेत्रमा देखिएको असहिष्णुताको वातावरण हटाउनसमेत सफल भएको बताए।
मन्त्री गुरुङले भने, ‘कांग्रेस र एमालेबिच बनेको सहमतिअनुसार २०४८, २०५६ र २०६४ सालमा जस्तै दुई दलबिच सरकार चलाउने तथा आपसमा चुनावी प्रतिस्पर्धा गर्दै २०८४ सालको चुनाव सम्पन्न गरिनेछ।’
मुलुकमा राजनीतिक अस्थिरताका कारण नीतिगत अस्पष्टता, लक्ष्यअनुरूप बजेट कार्यान्वयन र राजस्व संकलन नहुँदा राष्ट्रिय गौरवको आयोजना समयमा पूरा हुन नसकेको मात्र नभई व्यापार घाटा बढ्नाका साथै निर्माण सामग्री आयात ठप्प हुन गई संकटपूर्ण परिस्थितिमा वर्तमान सरकार गठन गरिएको मन्त्री गुरुङले उल्लेख गरे।
कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्नुको कारण र औचित्य प्रस्ट पार्दै उनले राजनीतिक स्थिरता र सुशासन कायम गरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार लागिपरेको बताए। नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाउने विषय संसदीय प्रणालीमा विरलै हुने घटना भए पनि सरकारले विकास, समृद्धि र स्थिरताको मूलभूत दायित्व पूरा गर्ने विश्वास दिलाए।
मन्त्री गुरुङले भने, ‘देशको राजनीतिक परिघटनामा प्रमुख राजनीतिक दल मिलेर संकटको समाधान गर्दै आएको इतिहास छ। अहिले पनि विभिन्न क्षेत्रमा देखिएका समस्या र राजनीतिक अस्थिरता अन्त्य गर्न वर्तमान सरकार गठन भएको हो। उद्देश्य र लक्ष्य पूरा गर्नेछ।’