काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सबै जाति समुदायका मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएका छन् ।
तमु ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबै नागरिकका अधिकार संरक्षण गरी सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवाद निर्माण गर्नुपर्ने बताएका हुन ।
पूर्वप्रधानमन्त्री खनालले तमु समुदायलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै नयाँ वर्षका रूपमा मनाइने यस्ता पर्वले मुलुकमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले नेपाली परम्परागत विशेषताका आधारमा मनाइने यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी प्रेमको भावना विकास गर्न सबैमा प्रेरणा प्रदान गर्ने बताए ।