काठमाडौं । विश्व माटो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘माटोको सुधारः परीक्षण, रेखदेख र उपचार’ नाराका साथ दिवस मनाउन लागिएको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन एफएओ को सिफारिसमा संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन शुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन शुरु गरिएको थियो ।
माटो दिवस नेपाल कृषि अनुसन्धान परिषद् नार्क, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्रले संयुक्त रूपमा मनाउन लागिएको जनाइएको छ ।
नेपालमा भने काभ्रेको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात गरी विश्व माटो दिवस मनाउन शुरु गरिएको थियो ।