बाकु । मस्कोले अजरबैजान एयरलाइन्सको विमान खसाल्ने जिम्मेवारहरूलाई सजाय दिने वाचा गरेको अजरबैजानले बताएको छ । बाकुले रूसी हवाई रक्षाले गोली हानेको बताएको छ ।
आजाल एम्ब्रेयर १९० जेट २५ डिसेम्बरमा कजाकिस्तानमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ६७ मध्ये ३८ जनाको मृत्यु भएको थियो ।
अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले विमानले दक्षिण रुसको ग्रोज्नी विमानस्थलमा नियमित अवतरण गर्न खोज्दा गल्तीले गोली हानेको जिम्मेवारी स्वीकार गर्न मस्कोसँग माग गरेका छन् ।
रुसले आफ्नो वायु–सुरक्षा मिसाइलले विमानलाई हानेको पुष्टि गरेको छैन । यद्यपि राष्ट्रपति भ्लादिमिर पुटिनले सप्ताहन्तमा अलिएभसँगको फोन वार्तामा त्यस समयमा प्रणालीहरू सक्रिय रहेको र रुसी हवाई क्षेत्रमा यो घटना भएकोमा उनी दुःखी भएको बताए ।
अजरबैजानका महान्यायाधिवक्ताका अनुसार रुसको अनुसन्धान समितिका प्रमुखले बाकुलाई भनेका छन्, “दोषी व्यक्तिहरूको पहिचान गर्न र उनीहरूलाई फौजदारी जिम्मेवारीमा ल्याउन गहन उपायहरू गरिँदैछ ।”
रुसले यस घटनामा फौजदारी जाँच सुरु गरेको छ । तर उसले विमानलाई आफ्नो वायु–सुरक्षा मिसाइलले हानेको हो भन्ने कुरामा सहमत छ कि छैन भनेको छैन र आफैँले कुनै दोषी फेला पारेको वा न्यायको दायरामा ल्याउने बारे केही बताएको छैन ।
अलियेभले आइतबार बाकुको निकट साझेदार मस्कोको दुर्लभ स्पष्ट निन्दा गरेका छन् । उनले विमानलाई ‘दुर्घटनावश हानिएको’ तर रुसले दुर्घटनाको कारण लुकाउने प्रयास गरेकोमा रिसाएको बताए ।
पुटिनलाई जिम्मेवारी स्वीकार गर्न माग गर्दै अलिएभले रुसलाई वैकल्पिक सिद्धान्तहरू अघि सारेर ‘रुसी पक्षले मुद्दालाई ढाकछोप गर्न चाहेको स्पष्ट देखाएको’ पनि आरोप लगाए ।
रुसका अनुसार आजाल विमान बाक्लो कुहिरोबाट अवतरण गर्न नजिकिँदा दक्षिणी रूसी क्षेत्र चेचन्याको ग्रोज्नीमा युक्रेनी ड्रोनले आक्रमण गरिरहेको थियो ।
बचेकाहरूले विमान बाहिर विस्फोटहरू सुनेको वर्णन गरेका छन् । त्यसपछि विमान क्यास्पियन सागर पार गरी चार सय किलोमिटर (२५० माइल) भन्दा बढी कजाकस्तानको अक्ताउ शहरतर्फ मोडियो र त्यहाँ यो दुर्घटनाग्रस्त भयो ।
कजाकस्तानले सोमबार विमानको ब्ल्याक बक्सहरू ब्राजिल पठाएको बताएको छ । त्यहाँ ब्राजिलियाली वायुसेनाको एकाइ एरोनटिकल एक्सिडेन्ट्स इन्भेस्टिगेशन एन्ड प्रिभेन्शन सेन्टरले विश्लेषण गर्नेछ ।