लाओसमा डेङ्गुका बिरामीको सङ्ख्या २० हजार नाघेको छ र यो वर्ष अहिलेसम्म ११ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । स्वास्थ्य मन्त्रालयको सूचना तथा शिक्षा केन्द्रको प्रतिवेदन अनुसार राजधानी भेन्टियानमा सबैभन्दा बढी पाँच हजार ७६१ जनामा सङ्क्रमण देखिएको छ ।
डेङ्गुका कारण लुआङ प्राबाङ प्रान्तमा चार, राजधानीमा तीन, सेकोङ प्रान्तमा दुई र लुआङ नम्था र भेन्टियाने प्रान्तमा एक–एक गरी ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगको फैलावटलाई नियन्त्रण गर्न र सतर्क रहन मानिसहरूलाई आग्रह गरेको छ ।
मन्त्रालयले लाओसमा स्वास्थ्य अधिकारी र चिकित्सा कर्मचारीहरूलाई डेङ्गु ज्वरोको गम्भीर प्रकोप रोक्नको लागि व्यवस्थापन सुधार गर्न आह्वान गरेको छ ।