रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु



एजेन्सी । युक्रेनविरुद्धको रूसको युद्धका क्रममा पक्राउ परेका उत्तर कोरियाली सैनिकको चोटका कारण मृत्यु भएको दक्षिण कोरियाली गुप्तचर निकायले शुक्रबार जनाएको छ । प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक तैनाथ गरेको छ र उनीहरू प्राय कुस्र्क सीमा क्षेत्रमा तैनाथ छन् । कुस्र्क अगस्टमा युक्रेनले नियन्त्रणमा लिएको रूसी क्षेत्र हो ।

उत्तर कोरियाली सैनिकमध्ये एक जनालाई युक्रेनी सेनाले बिहीबार जीवितै नियन्त्रणमा लिएको दक्षिण कोरियाली गुप्तचर स्रोतले एएफपीलाई जानकारी दिएको छ । कुस्र्कमा तैनाथ उत्तर कोरियाली सैनिक समातिएको केही घण्टापछि सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले ती सैनिकको मृत्यु भएको जनाएको हो ।


दक्षिण कोरियाली गुप्तचर निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डिसेम्बर २६ मा जीवितै पक्राउ परेका उत्तर कोरियाली सैनिकको गम्भीर चोटका कारण मृत्यु भएको छ ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेनामा सामेल भएका करिब तीन हजार उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको बताएका थिए ।

दक्षिण कोरियाको गुप्तचर सेवाले यसअघि हताहत (मृत्यु वा घाइते हुने) उत्तर कोरियाली सैनिकको सङ्ख्या एक हजार रहेको बताएका थिए । दक्षिण कोरियाली अधिकारीले युद्धभूमिको अपरिचित वातावरण र ड्रोन आक्रमणको सामना गर्ने क्षमताको कमीका कारण मृत्यु हुने उत्तर कोरियाली सैनिकको सङ्ख्या उच्च हुन सक्ने बताएका छन ।

दक्षिण कोरियाली गुप्तचर निकायको जानकारीपछि गत साता बोल्दै सांसद ली सियोङ–क्विनले प्योङयाङका सैनिकलाई ‘प्रयोग गर्न सकिने अग्रपङ्तीमा खटाइएको’ बताएका थिए । सन् २०२२ को फेब्रुअरीमा मस्कोले युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ ।

गत जुन महिनामा प्योङयाङ र मस्कोबीच हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यसै महिना लागू भएको थियो र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई ‘सफल दस्तावेज’ को संज्ञा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here