रास्वपाले भन्यो- रवि लामिछानेलाई मध्यरात पोखरा लगिनु निन्दनीय र आश्चर्यजनक



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट गरेको छ । साथै रास्वपाले उक्त विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ ।

रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर बयान गराई सुतिरहेको अवस्थामा अचानक मध्यराति चितवनबाट पोखरा पुर्‍याइएकोले यस्तो आश्चर्यजनक घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको दाबी गरेको छ ।


सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल चलेको रास्वपाले भनेको हो । 

यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएकाले सरकारको यस्तो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन भएको बताउँदै रास्वपाले त्यसको घोर भत्र्सना समेत गरेको छ ।

रवि लामिछाने कसुरदार नभई एक आरोपित व्यक्ति मात्र भएकाले सरकारको कानुनी प्रक्रियालाई साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेको रास्वपाको निष्कर्ष छ ।