काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो । बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो ।
लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो । सुरुमा उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीमा ठगी गरेकोमा उजुरी परेकाले पोखरा लगिएको हो ।
त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ । प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।
रविसँगै पत्नी निकिता पौडेल पनि पोखरा गएकी छन् । रवि हिरासतमा रहेदेखि धेरैजसो उनी पोखरामा नै रहँदै आएकी छन् । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय समितिले दिएको प्रतिवेदनका आधारमा रवि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।