काठमाडौं । मधेस मूलका नेताहरुले मधेसी राजनीतिक शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार काठमाडौंमा मधेसी एकता समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले मधेसी शक्तिमा सहकार्य आवश्यक रहेको औंलाएका हुन् । कार्यक्रममा बोल्दै नेता राजेन्द्र महतोले सारा मधेसीको चाहाना आजको दिनमा मधेसी शक्तिकोबीचमा एकता नै रहेको बताए ।
उनले केही समय अगाडि सम्पन्न आइपीएलमा जनकपुर बोल्र्टसका खेलाडीहरुमाथि धोती शब्दको प्रयोगगरी अपमान गरिएको भन्दै आपत्ति समेत जनाए । उनले भने,‘हाम्रो सारा मधेस आजको दिनमा मधेसी शक्तिको बीचमा एकता चाहन्छ । कीर्तिपुरको क्रिकेट मैदानमा धोती याद दिलाईदिए । सन्देश त पूरै देशमा गयो नि । के अपराध थियो र ती युवाहरुको काठमाडौंमा खेल्न आए जित हासिल गरे । मधेसी नौ जवान भएकै कारण उसको बेइजत गर्न के जरुरी थियो र ?’
त्यस्तै अर्का नेता हृदयेश त्रिपाठीले मधेसी नेताको गल्तीको कारणले नै पछाडी परेको बताए । उनले भने,‘हाम्रो नै केही मधेसी नेताको गल्तीको कारणले नै हामी पछाडी परेको हौं । यो अवस्था आएको हो । हामी बञ्चीत हुनु पुग्यौं ।’ अहिले सहि दिशा पहिल्याउन नसक्दा मधेस वास्तवमा नै गोलचक्करमा घुमिरहेको उनको भनाई छ ।