रामपुर (पाल्पा) । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्ने बताएका छन् ।
सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा मङ्गलबारदेखि आयोजना गरिएको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव उद्घाटन गर्दै मन्त्री सिंहले धार्मिक प्रवचन श्रवण मात्र नभई त्यसलाई बुझेर ग्रहण गरी हाम्रो दैनिक जीवनमा कार्यान्वयन गर्न सकियो भने प्रभावकारी हुने बताएका हुन् ।
महायज्ञले समाजमा हुने विकृति र विसङ्गतिलाई हटाउन ठूलो योगदान पुर्याउने हुँदा हाम्रो जीवन पद्धतिलाई फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे ।
रामपुर उपत्यका भविष्यमा नमूना र व्यवस्थित सहर बन्न सक्ने भएकाले योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री सिंहले यसको लागि सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मिलेर काम गर्न सुझाव दिए । साथै उनले विकास निर्माणको काममा जनप्रतिनिधिले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताए । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राहरू धेरै रहेकाले एउटा छात्रावास र क्याम्पसको पूर्वाधार निर्माणका लागि गरिएको यस महायज्ञ सफलताको उनले शुभकामना दिए ।
महायज्ञबाट रू तीन करोडदेखि पाँच करोडसम्म दान सङ्कलन हुने अपेक्षा गरिएको मूल आयोजक समितिका अध्यक्ष एवं क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद भट्टराईले जानकारी दिए । क्याम्पसमा अध्ययन गर्न आउने टाढाका विद्यार्थीलाई छात्रावास निर्माण, सङ्काय थप र सीपमूलक शिक्षा सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले बताउँछन् ।
क्याम्पसमा विभिन्न धर्म र समुदायका विद्यार्थीहरू अध्ययन गर्न आउने भएकाले सबै धर्म र समुदायका व्यक्तिको सहभागितामा यज्ञ सञ्चालन गरिएको छ । ‘सहिद क्याम्पसको चाहना, सङ्काय थप, सीपमूलक शिक्षा र छात्रवासको स्थापना’ भन्ने नाराका साथ आजदेखि सुरू भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलबाट प्रवचन हुनेछ ।