काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन गरेको छ ।
पुस ९ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा सदस्य रहेको सिफारिस समिति गठन गरेको हो ।
समितिले कम्तीमा तीन जना योग्य व्यक्तिको नाम सरकारसमक्ष सिफारिस गर्ने र त्यसपछि मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएपछि मंसिर २४ गतेदेखि नै रिक्त अध्यक्ष पद रिक्त । हाल अर्थ मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रूपमा कामकाज गरिरहेका छन् ।
बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्ने गरी मन्त्रालयले जिम्मेवारी दिएको हो ।