काठमाडौं । खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य आयोजक रहने सम्मेलनमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र ग्रिन बाम्बो क्रिएसन प्रालि आयोजक रहनेछन् ।
सम्मेलनमा बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरणसम्बन्धी गैरसरकारी सङ्घसंस्था, शैक्षिक तथा अनुसन्धान निकाय, निजी क्षेत्र, बाँसमा आधारित उद्यमी र स्थानीय तहले सहभागिता जनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सम्मेलनको मूल नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ तय गरिएको छ ।
सम्मेलनको उद्देश्य बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसखेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने रहेको दिक्तेल नगरपालिकाका तीर्थराज भट्टराईले जानकारी दिए ।
बाँस खेती गर्ने किसानको प्रवर्द्धनका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने सम्मेलनको उद्देश्य रहेको नगरप्रमुख भट्टराईले बताएका छन् । सम्मेलनमा एक सय सरकारी तथा गैरसरकारी निकाय, एक सय वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, एक सय विद्यार्थी सहभागी भई प्रत्यक्ष अवलोकन गर्ने उनले जानकारी दिए ।
सम्मेलनमा बाँस विज्ञको प्रस्तुतीकरण गरिने, विभिन्न जिल्लामा बाँसबाट निर्मित सामग्रीहरूको स्टल प्रदर्शन गर्ने, विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन गरिने मूल आयोजक समितिका संयोजक गणेश साह बताउँछन् । सम्मेलनको पूर्वतयारीका लागि यही पुस १४ गते कोशी प्रदेशको इटहरीमा, पुस १५ गते मधेश प्रदेशको जनकपुरमा, पुस १६ गते बागमतीको हेटौँडामा, पुस १८ गते गण्डकीको पोखरामा र पुसको अन्तिम साता उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर)मा प्रादेशिक कार्यक्रमहरू गर्ने उनले बताए ।