फाल्गुनन्द गोल्डकपः चर्च ब्वाइज फाइनलमा



पाँचथर। पाँचथरको फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब, काठमाडौं प्रवेश गरेको छ।

आज फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो।


खेलको ४३औँ मिनेटमा दिनेश शेर्माको गोलबाट आयोजक टोलीले सुरुआती अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा चर्च ब्वाइज बराबरीमा फर्कियो। उसका लागि समिर तामाङले गोल गरेका थिए।

खेलको ६२औँ मिनेटमा विदेशी खेलाडी अर्मान बेडमले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन्। यस्तै ८४औँ मिनेटमा अर्का विदेशी खेलाडी फोफोना अबियमीले गोल गर्दै चर्च ब्वाइजको अग्रता फराकिलो पारेसँगै जित हासिल भएको हो। खेलको उत्कृष्ट खेलाडी बनेर अबियमीले रु १० हजार पुरस्कार प्राप्त गरेका छन्।

चर्च ब्वाइजसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको फिदिमका प्रशिक्षक उपेन्द्र श्रेष्ठले आफ्नो टिमका खेलाडीहरूले राम्रो प्रदर्शन गरेकामा खुसी व्यक्त गरेका छन्। राष्ट्रिय टिमबाट खेल खेलेका र तालिम पाएका खेलाडीका अगाडि त्यस्तै अवसर नपाएका आफ्ना खेलाडीहरूले प्रतिस्पर्धी प्रदर्शन गर्नु उपलब्धिमूलक रहेको उनको भनाइ छ।

यता चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिमले खेलमा विजय हासिल गरे पनि आयोजक टिमका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका बताए। ‘खेलमैदान र दर्शक आयोजकका पक्षमा थिए। त्यसलाई चिरेर जित हासिल गर्न हामी लागिपर्‍यौँ’, उनले भने, ‘यसमा पनि आयोजक टिमका खेलाडीहरूको प्रदर्शन अत्यन्तै राम्रो रह्यो।’ आयोजकको टिमलाई बलियो मानेर खेलेका कारण मात्रै जित सम्भव भएको उनले बताए।

प्रतियोगिताअन्तर्गत शनिबार न्यूरोड टिम (एनआरटी) र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले जनाएका छन्। प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेता टोलीले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्। फाइनल खेल यही पुस १५ गते फिदिम माविको खेलमैदानमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here