झापा । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले आज मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको उद्घाटन तथा बृहत् गुरुयोजनाको शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यले एक समारोहकाबीच दुई बिघा पाँच कट्ठा जमिनमा निर्माण गरिएको भवनको उद्घाटन र नयाँ बन्ने भवनको शिलान्यास गरेका हुन् । प्रथम महिला शाक्य सो आश्रमको संरक्षक हुन् ।
आश्रमको १९औँ जिल्ला शाखाका रुपमा उद्घाटन तथा शिलान्यास भएको आमडाँगीस्थित सो जग्गा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका स्थानीय रामबहादुर प्रधानले निःशुल्क रुपमा प्रदान गरेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमबाट भएका गतिविधि र भावी कार्यक्रमको प्रशंसा गर्दै आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक आश्रमलाई दिने घोषणा गरे । यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहेकी प्रथम महिला एवं आश्रमका संरक्षक शाक्यले निवृत्तीभरण (पेन्सन) बापत पाउने दुई महिनाको सुविधा आश्रम भवन निर्माणका लागि दिने बताइन् ।
सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्रनिर्माण गर्ने परिकल्पनासहित सुरु भएको मानवसेवा आश्रममा हाल ४८ जना सहयोगापेक्षी सडक आश्रित मानव रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
गत साउन महिनादेखि अनौपचारिक रुपमा सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरी संस्थाले आश्रय दिँदै आएको छ । मेचीनगर नगपालिकाको २५ लाख र संस्थाको करिब एक करोडको लगानीमा तीन वटा भवन र शौचालय निर्माण गरेर सञ्चालनमा ल्याइएको आश्रमले स्पष्ट गरेको छ ।
अध्यक्ष अधिकारीका अनुसार सो आश्रममा उद्धार गरी ल्याइएका ४८ मध्ये अहिले ३३ पुरुष र १० जना महिला रहेका छन् । आश्रममा उद्धार गरेर ल्याइएकामध्ये दुई पुरुष र एक महिलाको परिवारमा पुनःमिलन गराइएको छ भने तीन पुरुष र एक महिलाको निधन भएको छ । आश्रमले एक सय ५० जना अट्ने भवन विस्तार र साधना हल बनाउने लक्ष्यसहित गुरुयोजना निर्माण गरेको अध्यक्ष अधिकारीले बताए ।
विसं २०६९ मा हेटौँडामा औपचारिक रूपमा मानव सेवा आश्रमको कार्यालय स्थापना गरी आश्रमले मानवताको प्रवद्र्धनको अभियान निरन्तर चलाउँदै आइरहेको छ । अध्यक्ष अधिकारीले भने, “देशभर खुला आकाशमुनि रात बिताउन विवश बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै २०८२ सालभित्र देशभर कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माणका पक्षमा आश्रम जुटेको छ, सक्दो सहयोगका लागि सबैसँग अनुरोध गर्दछौँ ।”
आश्रमले हालसम्म स्वयं आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानिसको खोजविन तथा पहिचान गरी १० हजार आठ सय २७ जनाको उद्धार गरेको जनाएको छ । जसमध्ये पाँच हजारभन्दा बढीको सामुदायिक तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापना गराइसकेको आश्रमले स्पष्ट गरेको छ । सो आश्रमको मुलुकभर २५ वटा सेवाकेन्द्र रहेको बताइएको छ ।