डडेल्धुरा । सोमबारदेखि सुरु भएको प्रथम सुदूरपश्चिम मेयर सम्मेलन १० बुँदे घोषणापत्र जारी गरी आज सम्पन्न भएको छ । परशुराम नगरपालिकाको आयोजनामा भएको सो सम्मेलनले संवैधानिक व्यवस्थालाई आत्मसात गरी सुदूरपश्चिमको दिगो र समतामूलक विकासका लागि साझा विषय तयार गरी कार्यान्वयन तथा शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्न क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।
घोषणापत्रमा नेपालको संविधानबमोजिम स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न, सङ्घ, प्रदेश र स्थानीय तहबिचको सहकारिता, सहअस्तित्व तथा समन्वयलाई प्रवर्द्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्ध रहने उल्लेख छ ।
“लोकतन्त्रका लाभहरूको समानुपातिक समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणाअनुरूप समाजवादोन्मुख शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्नेछौँ”, घोणापत्रमा उल्लेख छ, “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय तहमा विधायिकी, कार्यकारिणी तथा न्यायिक अभ्यासलाई संस्थागत गर्न नीतिगत र आवश्यक कानुनी व्यवस्था गरी सोको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै अगाडि बढ्ने छौँ ।”
यस्तै, मानव मर्यादा, सामाजिक सद्भाव र सांस्कृतिक सम्पदालाई समृद्ध सुदूरपश्चिमको आधारशिलाका रूपमा आत्मसात गर्दै विशेष संरक्षण र सम्बद्र्धन गर्ने, सुदूरपश्चिम, विशेषगरी सीमान्तकृत र कमजोर समूहका लागि समान अवसर सुनिश्चित गर्दै समावेशी शासनलाई बढावा दिने, शिक्षा र मानव विकासको सन्दर्भमा युवालाई सशक्तीकरण तथा ज्ञानमूलक समाज निर्माण गर्न गुणस्तरीय शिक्षा र सीप निर्माणका अवसरमा पहुँच बढाउन सबैले एकताबद्ध भएर लाग्ने यहाँका पालिका प्रमुखको सङ्कल्प छ ।
साथै, दिगो विकासका लागि पूर्वाधार निर्माणमा लगानीको निम्ति आवश्यक वातावरण निर्माण, रोजगारी सिर्जना, उद्यमशीलता र दिगो कृषि तथा पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ गर्न, प्राकृतिक स्रोतको संरक्षणलाई प्राथमिकता दिँदै जलवायु–उत्थानशील नीति र अभ्यासलाई वातावरणीय भण्डारणमा जोड दिने कार्यक्रम सञ्चालन गर्न प्रयत्न गर्ने यहाँका पालिका प्रमुखले घोषणापत्रमार्फत प्रतिबद्धता जनाएका छन् ।
“तहगत सरकारका बिच आपसी सहकार्य र समन्वय गरी नागरिकलाई निर्णय प्रक्रियामा सहभागिताको निम्ति प्रोत्साहन गरी सुशासनको प्रत्याभूति गर्ने र खेलकुदको माध्यमबाट समग्र सुदूरपश्चिमको विकासमा समन्वय तथा सहजीकरण गरी अगाडि बढ्ने, अन्य पर्यटन तथा रोजगारका सम्भावना पहिचानका लागि हातेमालो गर्न हामी सबै प्रतिबद्ध छौँ”, घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्र सार्वजनिक गर्दै नगरप्रमुख भरत बडायर जोशीले सम्मेलनका क्रममा उठेका विषय र मुद्दाबारे अब नियमित पैरवी गर्न आवश्यक रहेको बताए । उनले पूर्वनिर्धारित उद्देश्य सफल भए पनि आगामी दिनमा यहाँ उठेका विषय र प्रतिबद्धता कार्यान्वयन भएमा मात्र सम्मेलनको औचित्य पुष्टि हुने धारणा राखे । आफू यसमा क्रियाशील रहने र अन्य पालिकाबाट पनि सोही अपेक्षा रहेको उनको भनाइ थियो ।