प्रजातन्त्रप्रति प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्व सिंहको स्मरण



काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर पिएल सिंहलाई प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्मरण गरिएको छ ।

नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको सामीप्यमा रही नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि योगदान दिएका सिंहले सत्य, निष्ठा र इमान्दारको प्रतीकका रूपमा आफ्नो छवि बनाएको उनका सहकर्मीले प्रतिक्रिया दिएका छन् ।


समाजसेवी हितकरवीरसिंह कंसाकारले हरेक नागरिकदेखि माथिल्लो ओहदामा रहने सबैलाई समान व्यवहार गर्ने सिंह प्रजातन्त्रप्रति अडिग र ज्यादै इमान्दार नेता भएको बताए ।

मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि भएको स्थानीय तहको निर्वाचनमा विजयी भई उनले विसं २०४९ मा तत्कालीन काठमाडौं नगरपालिका प्रमुखको जिम्मेवारी सम्हालेका थिए । कंसाकारले भने, “पिएलजी गणेशमानसिंह र मङ्गलादेवीको सामीप्यमा रही राजनीतिक सहयोगीका रूपमा लामो समय काम गर्नुभयो, प्रजातन्त्रवादी योद्धा पिएलले काठमाडौं नगरपालिकालाई विश्वमा चिनाउन धेरै महत्वपूर्ण कामसमेत गर्नुभएको छ ।”

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंबाट विजयी भएपछि वातावरणमन्त्री बनेका सिंहले त्यसअघि नै काठमाडौंलाई स्वच्छ, सफा र हराभराको नारा दिएर काम गरेका थिए । उनका पिता स्वास्थ्यकर्मी चन्द्रमान सिंहसमेत तत्कालीन जहानियाँ राणाशासनका विरुद्ध र प्रजातन्त्रका पक्षमा लामो समयसम्म संलग्न भई काम गरेका थिए ।

पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रप्रति प्रतिबद्ध सिंहले विसं २०४२ को सत्याग्रह र विसं २०४६ को जनआन्दोलनका बेला कुशलतापूर्वक पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेको स्मरण गरे ।

उनले भने, “गणेशमानजीको राजनीतिक सहयोगीका रूपमा पिएलले काम गर्नुभयो । उहाँ समाजमा सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्छ भन्नुहुन्थ्यो । स्वच्छ, सफा र हराभरा काठमाडौँ अभियान उहाँले सुरु गर्नुभयो । उहाँ प्रजातन्त्रप्रति निष्ठावान् र अडिग व्यक्ति हुनुहुन्थ्यो ।”

काठमाडौं ताम्सिपाखामा विसं १९९६ चैत ११ गते जन्मनुभएका पिएलको अन्त्येष्टि त्यही नजिक लखुतीर्थमा गरिँदैछ । उनी अविवाहित हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here