काठमाडौँ । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवार्ट) नेपाल शाखाको आयोजनामा ‘पाँचौँ आइर्वाट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न भएको छ ।
शनिबार यहाँ पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा ज्योत्सना सिंह ठकुरीले निर्देशन गरेको ‘द कल’ विजेता घोषणा भएको छ । साथै, सरिता शाहले निर्देशन गरेको ‘सिया’ र रजिला श्रेष्ठले निर्देशन गरेको ‘छेसाङ’ लाई विशेष पुरस्कार (स्पेसल अवार्ड) प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महिला चलचित्र झैँ हरेक क्षेत्रमा नेतृत्व लिन र कार्य गर्न सफल रहेको बताए । उनले भने, “यी चलचित्रले महिला कति बलिया छन् भन्ने देखाएको छ । यस्ता कार्यक्रमलाई प्रवर्द्धन गर्न र सहयोग गर्न मन्त्रालयसँगै चलचित्र विकास बोर्ड तत्पर छ । यस्ता गतिविधिले महिलालाई अगाडि बढाउनाका साथै आत्मनिर्भर बन्न सहयोग र प्रेरित गर्छ ।” उनले महिला चलचित्रकर्मीलाई लक्षित गर्दै विभिन्न कार्यक्रम ल्याउनेसमेत बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रतियोगितामा सहभागी भएका पाँचवटा छोटा चलचित्रलाई बोर्डको कार्यक्रम प्रदर्शन गर्ने इच्छा जाहेर गरे । “यी चलचित्रले दिएको सन्देशमा धेरै महिलालाई सपना पूरा गर्न प्रोत्साहन दिन सक्छ । सोही कारण म यी चलचित्र अन्तर्राष्ट्रिय नारी दिवसमा देखाउन चाहन्छु । समाज र समुदायलाई शिक्षित गर्नाका साथै सकारात्मक सन्देश प्रवाह गर्ने यस्ता कार्यक्रमलाई बोर्डले वार्षिक क्यालेन्डरमै राखेर सहयोग गर्नेछ”, उनले भने ।
कार्यक्रममा चलचित्र निर्देशक तथा पत्रकार सम्झना उप्रेती रौनियारलाई सम्मान गरिएको थियो । पाँचौँ शृङ्खलासम्म आइपुग्दा सहभागिता र सहकार्य बढिरहेकाले यसले आगामी दिनमा पनि निरन्तरता दिने प्रतियोगिताकी संयोजक तथा चलचित्र निर्देशक सङ्गीता श्रेष्ठले बताइन् ।
“यो प्रतियोगिता अन्यभन्दा फरक हुनु नै हामीले महिला चलचित्रकर्मीलाई मात्र सहभागी गराउनु हो । अहिले पनि उहाँहरू चलचित्र निर्देशनमा अगाडि आउन हिच्किचाउनु भएको पाएकी छु । सोही कारण हामी उहाँहरूलाई प्रोत्साहन गर्न र महिलाको कथालाई महिलामार्फत नै ल्याउन यस्ता प्रतियोगितासँगै विविध कार्यक्रम गर्ने गरेका छौँ ।”
उनले चलचित्र निर्देशनमा आउने महिलाको कमी नदेखिए पनि निरन्तरता दिनेको भने कमी रहेका कारण सरकारसँगै सम्बन्धित क्षेत्र र सङ्घसंस्थाबाट प्रोत्साहन गर्न जरुरी रहेको बताइन् । संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा १८ वटा छोटा चलचित्र सहभागी भएका थिए ।
अनुपा श्रेष्ठ, रक्षासिंह राणा र अविरल थापा निर्णायक रहनुभएको समूहले अन्तिम प्रतिस्पर्धाका लागि पाँच चलचित्र छनोट गरेका थिए ।
विजेताबाहेक हिमानी शाह पराजुलीले निर्देशन गरेको ‘म पढ्न चाहन्छु’ र सोफिया महर्जन कार्कीको ‘द गर्ल शट अफ दार्चुला’ कार्यक्रममा प्रदर्शन गरिएका थिए ।