नेपाल स्काउट र खड्का ल्याण्डको संयुक्त विज्ञप्ती : ‘स्काउटसँग जोडेर उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत’



काठमाडौं । नेपाल स्काउट र खड्का ल्याण्ड डेभलप्मेण्ट प्रा.ली.ले दुवै संस्था र कम्पनीलाई जोडेर प्रकाशित समाचारप्रति ध्यानाकार्षण गराएका छन् । हिजो (बुधबार) नेपाल स्काउटको तर्फबाट प्रमुख आयुक्त महेन्द्र राज रंजित र खड्का ल्याण्डका तर्फबाट विकास थापा क्षेत्रीले गरेको संयुक्त वक्तव्य जारी गर्दै यस्तो ध्यानाकार्षण गराएका हुन् ।

विज्ञप्तीमा भनिएको छ–‘उक्त समाचारहरुमा विवादित विषयसँग असम्बन्धित माननीय मन्त्री दिपक खड्काज्यूलाई जोडेर व्यक्तिगत लाञ्छना लगाउने एवम् व्यक्ति चरित्रमाथि समेत प्रहार गर्ने नियोजित उद्देश्यले भ्रामक एवम् तथ्यहीन समाचारहरु समेत प्रकाशन तथा प्रसारण गरेको पाईयो । माननीय मन्त्री दिपक खड्काज्यू विगत २ वर्षदेखि खड्का ल्याण्ड डेभलप्मेण्ट प्रा.लिसँग सम्बन्धित नरहेको जनाउँदै श्री कम्पनी रजिष्ट्रारको कार्यालयबाट शेयर लगतको जानकारी प्राप्त हुन आएको छ ।’


विगतमा नेपाल स्काउट र खड्का ल्याण्ड प्रा.लि.बीच केही असमझदारी भएको भएपनि अहिले ती असमझदारी पूर्ण रुपमा निराकरण गर्न दुवैतर्फका प्रतिनिधि जिम्मेवार ढंगले लागेको पनि स्पष्ट पारिएको छ । विज्ञप्तीमा भनिएको छ–‘यसै सन्दर्भमा बहाल वापतको बक्यौता हिसाबकिताबको कार्य सम्पन्न भई विभिन्न मितिमा बक्यौता रकम दाखिला निरन्तर भैरहेको छ र बक्यौता बापतको बाँकी साँवा रकम आजको दश दिन (मिति २०८१ पौष ०६) गतेभित्र दाखिला गर्ने लिखित प्रतिबद्धता खड्का ल्याण्ड डेभलप्मेण्ट प्रा.लि.बाट नेपाल स्काउटलाई प्राप्त हुन आएको छ ।’

आपसी समझदारीमा निराकरणउन्मुख विषयप्रति न्यूनतम जानकारीसमेत नराखी समाचारहरु प्रकाशन तथा प्रसारण गरिनु प्रतिष्ठित सञ्चारमाध्यमहरुलाई कदापी पनि शोभनीय नहुने दुवै पक्षको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here