काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । विराटनगरको यो लगातार दोस्रो हार हो ।
सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदै अलआउट भयो । विराटनगरका लागि बासिर अहमदले २४ र राजेश पुलामी मगरले १५ रन बनाए । क्रिश सोल र अनिल खरेलले क्रमशः ९ र १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
ओपनर मार्टिन गप्टिल गोल्डन डकआउट भए । सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजन र अविनाश बोहराले ३÷३ तथा ब्राण्डन म्याकमुलन र इशान पाण्डेले १–१ विकेट लिए ।
यसअघि सुदूरपश्चिमले पूरैओभर खेलेर ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५७ रन बनाए । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै, इशान पाण्डेले ३८, ब्राण्डन म्याकमुलनले ३६, विनोद भण्डारीले २३, सैफ जैबले १४, स्कट कुग्गेलिजनले १०, आरिफ शेखले ९, र अमित श्रेष्ठले १ रन जोडे । विराटनगरका लागि अनिल खरेलले ३ तथा क्रिस सोल, इस्मात आलम र बसिर अहमदले १–१ विकेट लिए । अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।