काठमाडौं । थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्च अदालतको आदेशमा शुक्रबार साँझ थुनामुक्त भएका छन् । सर्वोच्चको आदेशपछि सीआईबीको हिरासतमा रहेका प्रसाईं थुनामुक्त भएका हुन् ।
थुनामुक्त भएपछि उनले मुलुकमा न्याय नमरेको बताए । उनले राज्यमा बेथितिको भण्डाफोर गर्दा आफूलाई शासकको ठाडो आदेशमा थुनेको बताए ।
उनले भने, ‘शासक हो न्याय मरेको छैन । राज्यका कुनै निकायप्रति विश्वास उडेको होला, तर न्यायालय आज पनि पवित्र छ । राज्यका अनेकन बेथितिको भण्डाफोर गर्दा निरंकुश शासकको ठाडो आदेशमा प्रशासनको चिसो खोर सहनु पर्यो । नागरिकको पक्षमा बोल्दा झुटा मुद्दा खेप्नु पर्यो । अन्तत्वगत्वा सत्यको जित भएको छ । सर्वोच्च अदालतको आदेशले आज रिहा भएको छु । यो बीचमा सहयोग सद्भाव व्यक्त गर्नेहरुप्रति मृदयदेखि धन्यवाद !’
उनले फेरि आफू मैदानमा खडा हुने बताएका छन् । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो ।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । साइबर अपराधको मुद्दामा अदालतले उनलाई ४० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी बुझाएपनि उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो ।
प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुःख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा करोडौं लगानी गरेको भन्दै अपवाह फैलाएपछि प्रसाई पक्राउ परेका थिए । तर अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा प्रसाईं फेरि पक्राउ परेका थिए ।