काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ५० औँ स्वर्ण दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गर्ने भएको छ ।
त्रिविले उक्त समारोह आगामी पुष १३ गते शनिवार हुने जनाएको छ । स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी गरेका विद्यार्थीहरू समारोहमा भाग लिने छन् ।
दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन, स्कार्फ र टोपी पहिरी बिहान १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गरेर सिटिङ व्यवस्थापनअनुसार तोकिएको स्थानमा बसिसक्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।
त्रिविका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदै छन् । स्वर्ण समारोहमा विभिन्न १७ वटा पदक समेत वितरण गरिनेछ । दीक्षान्त समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुँदै छन् ।
प्रमाणपत्र वितरण
दशरथ रङ्गशालाको उत्तरपट्टि नेपाली सैनिक प्रधान कार्यालयस्थित प्रमाणपत्र वितरण काउन्टरबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिने छ । विद्यार्थीलाई प्राप्त एसएमएसअनुसार तोकिएको काउन्टरमा सम्पर्क राख्न भनिएको छ ।
साथै, प्रमाणपत्र लिनका लागि अनलाइन फर्म भर्दा प्राप्त गरेको सेरमोनी स्लिप ल्याउनुपर्नेछ । दीक्षान्त समारोहमा उपस्थित भएका तर सो दिन प्रमाणपत्र लिन नभ्याएका र भाग लिन आवेदन दिई भाग लिन नसकेका विद्यार्थीहरूले पछि त्रिवि परीक्षा नियन्त्रण कार्यालय, रेकर्डस् तथा प्रमाणपत्र महाशाखा, बल्खुको कोठा नं ३ बाट प्रमाणपत्र प्राप्त गर्न सक्ने विश्वविद्यालय जनाएको छ ।