खान युनिस। प्यालेस्टिनी अधिनस्थ गाजामा तापक्रममा ‘अत्यधिक गिरावट’ आएका कारण एक सातामा तीन शिशुको मृत्यु भएको छ।
दक्षिणी गाजा अस्पतालका प्रमुख बाल चिकित्सकले एएफपीसँग कुरा गर्दै युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा चिसो यामसँगै ‘तापक्रममा आएको अत्यधिक गिरावट’का कारण यस साता तीन शिशुको मृत्यु भएको बताएका हुन्।
खान युनिस शहरको नासिर अस्पतालका डाक्टर अहमद अल–फर्राले तीन हप्ताकी एक बालिकालाई ‘अत्यधिक तापक्रम घटेपछि आकस्मिक कक्षमा ल्याइएको’ र उनको उपचारका क्रममा मृत्यु भएको बताएका छन्।
अस्पतालको बाल सेवा विभागका प्रमुख फर्राले मंगलबार आफ्नो टोलीले हेरेका अन्य दुई घटनाको पनि उल्लेख गरेका छन्। ‘तीन दिनको शिशु र एक महिनाभन्दा कम उमेरका अर्को एक शिशु गरी अन्य दुई अत्यधिक तापक्रममा आएको गिरावटका कारण मृत्यु भएको छ,’ उनले भने।
गाजामा १४ महिनाभन्दा लामो युद्धका कारण विस्थापित भएका प्यालेस्टिनीहरूलाई संकेत गर्दै उनले भने, ‘उनीहरू टेन्टमा बस्छन् र जाडो यामसँगै पछिल्ला केही दिनमा चिसो बढेपछि उनीहरू बिरामी परेका र यो नै उनीहरूको मृत्युको कारण बनेको छ।’
‘टेन्टले चिसोबाट जोगाउँदैन, र रातको समयमा धेरै जाडो हुन्छ, न्यानो राख्ने कुनै उपाय छैन,’ फर्राले भने। विशेष गरी नवजात शिशुका लागि जोखिम तीव्र रहेको बताउँदै उनले अगाडि भने, ‘धेरै आमाहरू कुपोषणको सिकार हुन्छन् जसले गर्दा उनीहरूका बच्चाहरूले खाने दूधको गुणस्तरमा असर पार्छ।’
प्यालेस्टिनी लडाकू समूह हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीका क्रममा गाजा पट्टीका २४ लाख बासिन्दामध्ये अधिकांश कम्तीमा एकपटक विस्थापित भएका छन्।