काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको गृहजिल्ला समेत रहेको झापामा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कपटी र बेइमानीको संज्ञा दिएका हुन् ।
दाहालले भने, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु । जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’
साथै, अध्यक्ष दाहालले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने चेतावनी दिए । दाहालले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट सत्ताबाट हटाइएको समेत दाबी गरे ।
‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु । मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ’, उनले भने ।