चितवनमा आज पनि रवि लामिछानेको बयान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछाने सँग आज (बुधबार) पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान लिँदैछ । 

काठमाडौं बाट मंगलबार चितवन पुर्‍याइएका लामिछाने सँग सरकारी वकील कार्यालयमा मंगलबार मध्याह्न १२ बजे देखि पाँच घन्टा बयान लिइएको थियो ।  लामिछाने सँग आज पुनः लिखित बयान लिइने सरकारी वकील कार्यालयले जनाएको छ । 


मंगलबार पहिलो दिन प्रारम्भिक प्रश्न मात्र गरिएकोमा आज थप विषयमा लिखित बयान हुनेछ । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाडौं बाट मंगलबार बिहान चितवन लगिएको थियो । 

चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछाने सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।  साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डी.आई.जी. छविलाल जोशी र नेचर हब इन्टरनेशनल प्रा.लि.मा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । 

उनीहरूलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो । यसैबीच, रा.स्व.पा. सभापति लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनामा अनुसन्धान गर्न काठमाडौं महानगरले प्रहरीलाई पत्र लेखेको छ । 

सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेको, बचत परिचालनमा गम्भीर त्रुटि तथा जालसाजी गरेको देखिए पछि सञ्चालक माथि अनुसन्धान र कारबाहीका लागि भन्दै प्रहरी परिसरलाई पत्र पठाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here