क्यान महासङ्घमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सुनैना घिमिरे पाण्डे



काठमाडौँ । कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासङ्घको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्यान महासङ्घले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । उनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशकसमेत हुन् ।


महासङ्घको १५औँ कार्यसमितिको उपाध्यक्षमा, हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा चन्द्रविलास भूर्तेल र कोषाध्यक्षमा विक्रमसिंह निर्वाचित भएका छन् ।

सचिवहरूमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, रामकिशोर रावल र कर्णराज पनेरु चयन भएका छन् । त्यस्तै कार्यकारिणी सदस्यमा उमेश रघुवंशी, ध्रुवराज शर्मा, केशवप्रसाद भट्टराई, नारायणप्रसाद श्रेष्ठ, ठाकुरकुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दीपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोलालगायत निर्वाचित भएका छन् ।

लेखासमितिको संयोजकमा भानुभक्त शर्मा र सदस्यहरूमा सन्तोष ढुङ्गाना र पूजा अग्रवाल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई सर्वसम्मत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयत्न गरिने बताए।

उनले नेपाललाई सूचना प्रविधि ‘हब’का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन नीतिगत सुधारको खाँचो रहेको र यसका लागि आफूले विशेष पहल गर्ने बताए।

नवनिर्वाचित महासचिव भूर्तेलले क्यान महासङ्घको कार्यक्षेत्र विस्तार गर्न विशेष ध्यान दिने र संस्थागत सुधारका लागि ठोस रणनीति अपनाएर लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाए।

सन् १९९२ मा स्थापना भएको क्यान महासङ्घले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

सन् २०१५ मा महासङ्घमा रूपान्तरण भपछि यस सङ्गठनले सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ । क्यानले हरेक वर्ष आयोजना गर्ने ‘क्यान इन्फोटेक’ नेपालको ठूलो प्रविधिसम्बन्धी प्रदर्शनीका रूपमा मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here