कजाकस्तान विमान दुर्घटना हुँदा ३८ जनाको मृत्यु, राष्ट्रिय शोकको घोषणा



अजरबैजान । कजाकस्तानका उपप्रधानमन्त्री कानात बोजुम्बायेभले कजाकस्तानमा भएको विमान दुर्घटनाको कारण हालसम्म पुष्टि गर्न नसकिएकाले घटनाको निष्कर्षसम्म पुग्न समय लाग्ने बताएका छन् ।

बुधबार अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित जे२–८२४३ उडान नम्बरको एम्ब्राएर १९० विमान बाकुबाट ग्रोज्नी जाँदै गर्दा कजाकस्तानको अक्ताउ विमानस्थल नजिक दुर्घटनाग्रस्त भएपछि उपप्रधानमन्त्री बोजुम्बायेभले यस्तो बताएका हुन ।


कजाखस्तानको आपत्कालीन स्थिति मन्त्रालयका अनुसार विमानमा ६७ जना सवार भएकोमा ३८ जनाको ज्यान गएको छ । दुर्घटनापछि कजाकस्तान र अजरबैजान दुवै देशले उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन राष्ट्रिय समिति गठन गरेको घोषणा गरेका छन् ।

यद्यपि, हालसम्म दुवै देशका सरकारहरूले यो घटनाको कारण तत्काल निर्धारण गर्न नसकिने बताएका छन् । बोजुम्बायेभले एक अन्तर–विभागीय अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन् । उनका अनुसार आपराधिक अनुसन्धान र पहिचान विशेषज्ञहरू तथा नागरिक उड्डयन व्यवस्थापनका विशेषज्ञहरू अक्ताउमा थप अनुसन्धानका लागि पुगिसकेका छन् ।

विशेषज्ञहरूले घटनास्थलबाट सम्पूर्ण प्रमाण सङ्कलन गरी आपराधिक मुद्दाको ढाँचामा आवश्यक पहिचानको काम गर्नेछन्, जसबाट उक्त दुर्घटनाको कारण पत्ता लगाउनका लागि सहयोगको अपेक्षा गरिएको बोजुम्बायेभले बताए ।

यसैबीच, अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले बुधबार एक आधिकारिक आदेश जारी गरी डिसेम्बर २६ लाई राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गरिसकेका छन् ।

रुसको हवाई क्षेत्रमा सन् पिटर्सबर्ग शिखर सम्मेलनका लागि विमान दुर्घटनाका क्रममा राष्ट्रपति अलियेभ जाँदै थिए तर दुर्घटनाको जानकारी पाउनेबित्तिकै राष्ट्रपति अलियेभले आफ्नो उडान फिर्ता गरेका थिए ।

दुर्घटनाग्रस्त विमानले खराब मौसमका कारण आफ्नो मार्ग परिवर्तन गरेको राष्ट्रपति अलियेभले बताएका छन् । तर घटनाको वास्तविक कारण अझै स्पष्ट नभएकाले सो घटनाको कारणबारे अहिले नै चर्चा गर्नु चाँडो हुने उनको भनाइ छ । अजरबैजान एयरलाइन्सका अनुसार दुर्घटनाग्रस्त विमानको सबैभन्दा हालैको प्राविधिक जाँच अक्टोबरमा गरिएको थियो । विमानका कप्तानसँग १५ हजार घण्टाभन्दा बढीको उडान अनुभव रहेको जनाइएको छ ।

हालका लागि अजरबैजान एयरलाइन्सले घटनाको अनुसन्धान सम्पन्न नहुँदासम्म बाकुबाट ग्रोज्नी, रुस तथा बाकुबाट माखाचकाला, रुससम्मका सबै उडान स्थगित गर्ने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here