काठमाडौं । कक्षा नौ, दश र एघारमा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्ष देखि परीक्षा र रजिस्ट्रेसन फाराम बापत शुल्क तिर्न नपर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब पाँच लाख विद्यार्थीले परीक्षा फाराम र रजिस्ट्रेसन फारामका लागि शुल्क तिर्नुनपर्ने भएको हो ।
यी शीर्षकमा शुल्क नलिने निर्णय गरेर बोर्डले कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ । सरकारी राजस्व सँग सम्बन्धित विषय भएका कारण शुल्क नलिने बोर्डको निर्णय सहितको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्षको शुुरुवात हुनु अघि संसद्मा प्रस्तुत गर्ने विनियोजन विधेयक बाट यो विषय हटाए पछि मात्रै यो निर्णय पूर्ण कार्यान्वयनमा जाने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालय तहमा यसै वर्ष देखि परीक्षा र रजिस्ट्रेसन फाराम बापत विद्यार्थी बाट लिने शुल्क मिनाहा गर्ने योजना बनाएको थियो । तर, चालु आर्थिक वर्षको विनियोजन विधेयकमा विद्यार्थी बाट लिइने शुल्क र त्यस बाट संकलन हुने राजस्वसम्बन्धी विषय समावेश भएका कारण तत्काललाई शुल्क नलिई परीक्षा फाराम र रजिस्ट्रेसन फाराम भराउने मन्त्रालयको योजना पूरा हुन नसकेको हो ।
हरेक वर्ष कक्षा ९ मा पाँच लाख हाराहारी विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने गर्छन् । अहिले रजिस्ट्रेसन फाराम बापत विद्यार्थीले तीन सय रुपियाँ राजस्व तिर्दै आएका छन् । त्यस्तै कक्षा १० को अन्त्यमा एस.इ.ई.का लागि हरेक विद्यार्थीले परीक्षा फाराम बापत पाँच सय रुपैयाँ राजस्व तिर्दै आएका छन् । कक्षा ११ मा रजिस्ट्रेसन फाराम भरेबापत विद्यार्थीले बोर्डलाई छ सय रुपैयाँ राजस्व तिर्दै आएका छन् ।
कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मा सम्बन्धित विद्यालयको भए पनि रजिस्ट्रेसन शुल्क भने बोर्डले लिँदै आएको छ ।