काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन जोडेको हो । सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारी र शेफ जैवले उत्कृष्ट साझेदारी गरे । पहिलो विकेटका लागि उनीहरुले ११७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका लागि भएको यो साझेदारी अहिलेसम्मकै उच्च हो ।
पहिलो विकेटका रुपमा शेफ ६९ रन बनाएर भए । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । किशोर महत्तोले उनको विकेट लिएका थिए । दोस्रो विकेटमा ओपनर विनोद भण्डारी ४१ रन बनाएर आउट भए । उनी ललित राजवंशीको बलमा आउट भएका हुन् ।
पहिले जसरी उत्कृष्ट ब्याटिङ भयो, पछि भने त्यसले लय गुमाउँदा सोचेझैं गर्न सकेन । अन्तिम २ ओभरमा उसले ५ विकेट गुमायो । स्कट कुगेलियन १३ रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंहले ७ बलमा ९ रन मात्रै जोड्न सके । नरेश बुढायर ८ रन, इशान पाण्डेले ६ रन जोड्दा आरिफ शेख एक रनमै समेटिए ।
बलिङतर्फ जनकपुरका किशोर महत्तो र मोहम्मद मोहसिनले समान ३/३ विकेट लिए । ललित राजवंशी र जिमी निशमको नाममा एकएक विकेट रह्यो ।
सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।
जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।