एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन



मङ्गलबारे (इलाम) । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको सङ्ख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् ।

कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बनेका छन् इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल । उनले यसै वर्ष रु ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गरेका छन् । उनी पूर्व वडाध्यक्षसमेत हुन् ।


सन्दकपुर–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए। अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात् प्रतिमन रु एक लाख १५ हजार छ । तीस मन अलैँचीको प्रतिमन रु एक लाख १५ हजारको मूल्यले पनि रु ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो ।

गाउँगाउँमा पुगेका व्यापारीले महँगो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले अलैँची प्रतिमन रु एक लाख १० हजारमा खरिद गर्ने गरेका छन् । खनालले लामो समयदेखि अलैँचीखेती गर्दै आएका छन् । बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछाडेको उनले बताए। बीचमा दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसानसमक्ष बिरुवा पुर्याएको खनालले बताए ।

धेरै मेहनत नलाग्ने अलैँचीखेतीबाट मनग्य आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फडानी गर्न र बिरुवा लगाउन धेरै खर्च हुने भए पनि त्यपछि अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन बढी खर्च हुने गरेको किसान खनालको भनाइ छ । बीचमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ । सो कार्यमा खास खर्च नलाग्ने उनले बताए ।

हाल खनालले ३३ रोपनी र २४ रोपनीका दुई प्लटमा अलैँची खेती गरेका छन् । हिउँदको समयमा तुसारो पर्ने भएकाले यसबाट जोगाउन ‘ग्रीन नेट’ लगाउने गरिन्छ । आगामी वर्षदेखि उत्पादन बढ्ने उनले बताए। अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट पनि उत्पादन बढ्ने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here