उद्योग परिसंघले सुरु गर्‍यो ‘सिएनआई सञ्चार संवाद’ श्रृखंला



काठमाडौं । नेपाल उद्योग परिसंघले ‘सिएनआई सञ्चार संवाद’ सुरु गरेको छ । अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार आर्थिक मुद्दाहरुमाथि छलफल गर्न मासिक संवाद सुरु गरेका हुन् ।

नीजि क्षेत्र र पत्रकार मित्रहरुसँग आर्थिक विषयमा लेख्ने पत्रकारहरुसँग समसामयिक आर्थिक मुद्दाहरुका विषयमा छलफल गर्न यस्तो संवाद श्रृखला सुरु गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए ।


‘हामीबीच छलफल वा संवाद हुनु जरुरी छ । आर्थिक क्षेत्रको कुरालाई सकारात्मक रुपमा लेख्ने हो भने सकारात्मक हुन्छ तर नकारात्मक तर्फ जाने हो भने त्यही हिसाबले जान्छ । आर्थिक मुद्दाको वास्तविक विषयमा छलफल गर्न यस्तो संवाद सुरु गरेका हौं,’ अग्रवालले भने ।

कतिपय ठाँउमा समाचार पढेर नै मान्छेहरुले आफ्नो विचार राख्ने गरेकाले सही र सत्य जानकारी गराउन सञ्चार संवाद सुरु गरिएको उनले जानकारी दिए । यस्तो संवाद महिनामा एक पटक गरिने पनि उनले बताए ।

फरक प्रसंगमा अध्यक्ष अग्रवालले मुलुकको लगानी नपुग्ने भएकाले विदेशी पुँजी ल्याउनुपर्ने र त्यो ल्याउँदा कुन ऐनको कुन दफाले प्रभाव पारेको छ भन्ने विषयमा बृहत छलफल हुनुपर्ने बताए ।