आन्द्रेसको शतकमा पोखरा एभेन्जर्सको पहिलो जित, लुम्बिनी स्तब्ध



काठमाडौं । आन्द्रेस गौसको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको दोस्रो खेलमा पोखराले लुम्बिनी लायन्सविरुद्ध १० विकेटको जित दर्ता गरेको हो । यसरी एनपिएलमा १० विकेटको जित हात पार्ने पोखरा पहिलो टोली हो ।

बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेर लगातार २ हार व्यहोरेको पोखराको यसलाई उत्कृष्ट कमब्याक भन्न सकिन्छ । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेलमा चितवन रोइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग भारी अन्तरले पराजित भएको थियो । तर, यता लुम्बिनीले भने लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो ।


आज लुम्बिनीले दिएको १७१ रनको चुनौतीपूर्ण लक्ष्य पोखराले १६.५ ओभरमा विनाविकेटको क्षतिमा सहजै पूरा गरेको हो । पोखराका लागि ओपनरका रुपमा आएका अमेरिकी स्टार आन्द्रेसले ५४ बलमै शतक प्रहार गरे । उनी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । ५५ बल खेलेका उनले १२ चौका र ५ छक्काको मदतमा अविजित १०४ रन जोडे ।

यो जितमा गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरेका छन् । यो एनपिएलमा भएको सर्वाधिक रनको साझेदारी हो । दिनेशले आज ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए ।

लुम्बिनीका कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै ५९ बलमा चार छक्का र १० चौका प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए । टम मूर्सले ४५, सन्दीप जोराले १८ र विवेक यादवले दुई रनको योगदान दिए । लुम्बिनीका आशुतोष घिरैया र उन्मुक्त चन्दले शून्य रनमा आउट भए । यो खेलमा लुम्बिनीले अतिरिक्त १० रन प्राप्त गर्यो ।

बलिङतर्फ पोखराका लागि विपीन खत्रीले दुई र म्याट क्रिचलेले एक विकेट हात पारे ।